नेपाल र चीनबीच आगामी बिहीबार र शुक्रबार बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुँदै

काठमाडौ, ७ साउन :
नेपाल र चीनबीच आगामी बिहीबार र शुक्रबार बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुँदैछ ।

वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली आज बेइजिङतर्फ प्रस्थान गर्दैछ । मन्त्रालय स्रोतका अनुसार चीनले नेपालमा भारतले पाएजस्तै ‘असीमित उडान र सिट सुविधा’ को अपेक्षा गरिरहेको छ ।
सन् २०१४ मा भएको द्विपक्षीय वार्ताले नेपाल र चीनबीच सातामा दुईतर्फी ५६-५६ उडान गर्न सकिने व्यवस्थामा सम्झौता भएको थियो । चीनबाट धेरै जहाज नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै त्यसलाई तन्काएर ७० उडान पुर्याइएको छ ।
अहिले त्यो कोटा चीनको तर्फबाट लगभग पूरा भइसकेको छ । त्यसकारण चीन नेपालमा असीमित उडानको अपेक्षासहित नेपालसँग वार्तामा बस्दैछ । अहिले चीनबाट विभिन्न ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् ।
उनीहरुले अहिले वार्षिक करिव डेढ लाख चिनियाँ पर्यटक र उत्ति नै संख्यामा नेपाली यात्रुलाई सेवा दिन्छन् । व्यापारको यो हिस्सा अहिले चिनियाँ वायुसेवा कम्पनीले एकलौटी ओगटेका छन् । किनकि चीनले नेपाली वायुसेवा कम्पनीहरुलाई भने चीनले अनुमति दिएको छैन ।
नेपाली टोलीको नेतृत्वकर्ता सहसचिव सुरेश आचार्यका अनुसार नेपालले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडानको योजना बनाइरहेका रुटमा सहजीकरणको काम यस वार्ताका दौरानमा हुनेछ । यसबाहेक नेपाल र चीनमा कुनै विमानस्थल नतोकी सबै विमानस्थलमा जान पाउने गरी सम्झौताको तयारी छ ।
तपाइँको प्रतिक्रिया