गोन्द्राङ ढाटमा चितवनबासीलाई कर नलिन सर्वपक्षिय बैठकको निर्देशन

चितवन समाचारडटकम, १७ असार ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत भरतपुर महानगरपालिका वडा नम्वर १२ गोन्द्राङमा रहेको ढाटमा चितवनका स्थानीय जनतालाई कर नलिन सर्वपक्षिय बैठकले निर्देशन दिएको छ ।
एउटै जिल्ला भित्र आवातजावत गर्दा पनि कर तिर्नुपर्ने भन्दै ब्यापक बिरोध भएपछि आज बसेको जिल्लाका जनप्रतिनिधी, दलका नेता, स्थानीय प्रशासन, उद्योगी ब्यवसायी, नागरिक समाजको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले गोन्द्राङ ढाटलाई स्थानान्तरण गराउन, बैज्ञानिक ढंगले कर निर्धारण गर्न केन्द्रिय सरकारमा डेलिगेशन जाने निर्णय पनि गरेको छ ।
‘ढाट स्थानान्तरण बारे केन्द्रवाट नीतिगत निर्णय नआउन्जेल सम्म एउटै जिल्ला भित्र आवातजावत गर्न चितवनका जनतालाई कर नलिन स्थानिय प्रशासनबाट सर्वपक्षिय बैठकमा भएको निर्णय कार्यान्वयन गराउन सम्वन्धित ठेकेदारलाई जानकारी हुनेछ,’ बैठक पछि प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलले भन्नुभयो ।
नेकपा चितवनका अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधी सभा सदस्य पोखरेल, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ती नगर प्रमुख प्रभा वराल , सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्ल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उवासंघका अध्यक्ष राजाराम रेग्मी लगायत सहभागी हुनुभएको थियो ।
प्रतिनिधी मुलक ढंगले बैठकमा सहभागी सबैले ढाट हटाउन सहमत जनाए । ढाट हटाउन केन्द्रमा संयुक्त रुपमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले यदी ढाट यथावत अवस्थामा सञ्चालन गरी कर असुल गर्ने हो पूर्वी चितवनवासी आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

तपाइँको प्रतिक्रिया