कांग्रेसका घर झिलिमिली कम्युनिस्टका घरमा पिलपिले टुकी

काठमाडौ २७ कार्तिक । एक सय ७७ घरधुरी रहेको जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटमा बिजुली छ । तर, कांग्रेसका घर झिलिमिली हुँदा कम्युनिस्टका घरमा पिलपिले टुकी मात्रै बल्छन् । ०७३ अघिका पाँच वर्षको अवस्था ठीक उल्टो थियो । कम्युनिस्टका घर झिलिमिली हुन्थे, कांग्रेसका अन्धकार ।

जुम्लाकोटमा सशस्त्र द्वन्द्वकालमा समेत नदेखिएको वैचारिक मतभेद ०६७ पछि ‘बिजुली राजनीति’सँगै सुरु भयो । तत्कालीन माओवादी पक्षको सक्रियतामा सरकारी बजेटमा जुम्लाकोट साना जलविद्युत् आयोजना निर्माण भएको थियो । २७ लाख लागतमा निर्माण भई ०६७ साउनदेखि सञ्चालनमा आएको २५ किलोवाटको बिजुली कम्युनिस्ट–कांग्रेस सबैले बाले । दुई वर्षसम्म सबै घर झिलिमिली भए ।

तर, ०६७ मै कांग्रेसका स्थानीय नेता प्रेम बस्नेत माओवादीमा प्रवेशसँगै सुरु भएको तिक्तता ०६९ सम्म पुग्दा बिजुली नै नबाल्ने निर्णयसम्म पुग्यो । माओवादी पक्षको सक्रियतामा उनीहरूकै जग्गामा उत्पादित बिजुली भन्दै कांग्रेस पक्षले बहिष्कार गर्‍यो ।

‘०६९ सम्म सबैले बालेको हो । तर, माओवादी पक्षधरले मेरा पार्टीले बनाएको बिजुली भन्नेजस्तो व्यवहार देखाए । अनि हाम्रो पार्टीका सबै घरधुरीले बिजुली बाल्ने वातावरण बनेन,’ कांग्रेसबाट विजयी तिला–८ की वडासदस्य रत्ना बस्नेतको आरोप छ ।

दुई वर्षपछि ०७१ मा सुशील कोइराला नेतृत्वको सरकारसँग लबिङ गरेर कांग्रेस पक्षधरले अर्को जलविद्युत् आयोजना सञ्चालनको बजेट पारे । ३० लाख बजेटमा पातालामा नौ किलोवाट विद्युत् उत्पादन भयो । ०७३ देखि कांग्रेस पक्षधर सबै ४० घरमा पनि पुनः बिजुली बल्न थाल्यो ।

कांग्रेसका घरमा बिजुली बल्न थालेको एक वर्ष नपुग्दै फेरि कम्युनिस्टका घर अन्धकार भए । कारण थियो, जुम्लाकोट जलविद्युत् आयोजना बिग्रिनु । ०७४ मा बिग्रिएको आयोजना अहिलेसम्म बनेको छैन । कांग्रेस पक्षले उत्पादन गरेको बिजुली कम्युनिस्ट पक्षधर एक सय ३७ घरमै जोडिएको छैन । ‘विद्युत्गृह निर्माण कांग्रेस पक्षले आफ्नै जग्गामा बनाए, कामदार पनि आफ्नै पार्टीका कार्यकर्ता मात्रै खटाए । हामीलाई कुनै वास्तै गरेनन्,’ नेकपाका धनलाल बस्नेतले भने, ‘सुरुदेखि नै पार्टीगत बनाएपछि हामी गएनौँ । पछि हामीले माग्ने कुरा भएन, उनीहरूले लैजानुस् पनि भनेनन् ।’ उनले बिग्रिएको जुम्लाकोट विद्युत्गृह ३८ लाख लागतमा मर्मत भइरहेको बताए ।

अभिभावकहरू पार्टीगत रूपमा विभाजित हुँदा जुम्लाकोटका बालबालिकामा भने गलत असर परिरहेको छ । जुम्लाकोटको देउराली माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय ५० बालबालिका पनि जबर्जस्त कांग्रेस र नेकपामा विभाजित बनेका छन् । ‘यो कांग्रेसको बिजुली हो, हाम्रो घरमा छैन,’ १२ वर्षीय मिलन बस्नेतले भने, ‘दियालोको भरमा पढ्नुपरेको छ । हाम्रो बिजुली पनि बनिरहेको छ रे ! त्यसपछि सहज होला ।’

नेकपा र कांग्रेसका नाममा पानी बाराबारको स्थिति

जुम्लाकोटमा नेकपा र कांग्रेसका नाममा पानी बाराबारको स्थिति बनेको छ । सक्रिय नेता–कार्यकर्ता मात्रै होइन, सामान्य समर्थकसमेत एक–अर्कालाई निधेषमा उत्रिएका छन् । एक–अर्काको भोजभतेर मात्रै बहिष्कार गर्दैनन्, मलामीसमेत जाँदैनन् । ‘कांग्रेसका आउँदैनन्, हामी किन जाने ?’ धनलालले भने ।

कांग्रेस पक्षधरलाई घरै छाड्न बाध्य पारेको आरोपसमेत नेकपा पक्षमाथि छन् । वडासदस्य रत्नाले नेकपाका कारण चन्नवीर बस्नेत, गुमबहादुर बस्नेत, जयलाल बस्नेत, चुन्नबहादुर बस्नेत र धनबहादुर बस्नेतले घर छाडेको बताइन् । पुरानो थलो छाडेर नयाँ ठाउँमा घर बनाएको उनको भनाइ छ । नेकपा पक्षधर धनलाल भने कोही कांग्रेसलाई विस्थापित नगराएको बताउँछन् । आफ्नै खुसीले घर सारेको उनको भनाइ छ ।

नेकपाबाट वडाध्यक्ष निर्वाचित सन्तवीर रावत भने पहिलेभन्दा सम्बन्ध सुधारिँदै गएको बताउँछन् । ‘पहिले त यो गाउँमा सामाजिक द्वन्द्वले नालापानीको युद्धजस्तो रूप लिएको थियो । एक पक्षको घरमा दुःखद घटना हुँदा अर्को पक्षले खुसियाली बनाउने अवस्था थियो,’ रावतले भने, ‘स्थानीय तहको निर्वाचनपछि केही हदसम्म भए पनि शान्त भएको हो । अहिले मलामीसम्म जान्छन्, तर पितृप्रसाद अझै खाँदैनन् ।’ स्थानीय तह निर्वाचनमा सांसद गजेन्द्रबहादुर महतलगायत जिल्लाका नेता–कार्यकर्ता भेला भएर छलफल गरेपछि वातावरण केही सहज बनेको उनले बताए ।

जुम्लाकोटका वडाध्यक्ष सन्तवीर रावत भन्छन् :

पहिले त यो गाउँमा सामाजिक द्वन्द्वले नालापानीको युद्धजस्तो रूप लिएको थियो । एक पक्षको घरमा दु:खद घटना हुँदा अर्को पक्षले खुसियाली बनाउने अवस्था थियो । स्थानीय तहको निर्वाचनपछि केही हदसम्म भए पनि शान्त भएको छ । अहिले मलामीसम्म जान्छन्, तर पितृप्रसाद अझै खाँदैनन् ।

नयाँ पत्रीकाबाट

ताजा अपडेट