प्रदेश प्रमुखहरुको पदमुक्त स्वभाविक : कानुन सभापति पोखरेल

चितवन समाचार डटकम, १८ कार्तिक ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रदेश प्रमुखहरुको पदमुक्तलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ चितवनले आज भरतपुरमा गरेको सांसदसंग संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधीको रुपमा नियुक्ती भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकुलता वा प्रतिकुलतामा फेरवदल गर्नसक्ने स्पष्ट पार्नुभयो ।
‘उहाँहरुलाई निर्वाचन अघिको सरकारले नियुक्त गरेको हो, अहिले स्पष्ट बहुमतको अर्को सरकार छ । यस्तो अवस्थामा उहाँहरु आफैले पद छाड्नु बुद्धिमत्ता हुन्थ्यो तर परिस्थिती त्यस्तो भएन । संबिधानमा भएको ब्यबस्था अनुसार सरकारले स्वभाविक रुपमा उहाँहरुलाई पदमुक्त गरेको हो ।’—पोखरेलले भन्नुभयो ।
कानुन कार्यान्वय, अन्तराष्ट्रिय सम्वन्ध जस्ता बिषयमा सरकार पूर्ण रुपमा सफल भएको उल्लेख गर्दै पोखरेलले बिकास निर्माणका ठूला परियोजनाहरु धमाधम अघि बढिरहेको बताउनुभयो ।
सुशासनका सवालमा सकारात्मक प्रयासहरु भैरहेकाले जनतासंग भएका प्रतिवद्धताहरु पुरा हुने उहाँको बिश्वास थियो ।
चितवन क्षेत्र नम्वर २ का सांसद पोखरेलले यहाँको बिकास निर्माणमा भएका प्रगतिहरु समेत सुनाउनुभएको थियो । आपनो निर्वाचन क्षेत्रको केही पाहाडी बस्तीमा रहेको बिद्युतीकरण र सडकको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो ।
पत्रकार महासंघ चितवनको भौतिक संरचना निर्माणकालगि साँसद बिकास कोषवाट केही रकम उपलब्ध गराउने प्रतिवद्धता साँसद पोखरेलले ब्यक्त गर्नुभयो ।
ेकार्यक्रम पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा अपडेट