ओली र म ‘मुर्ख’ : अध्यक्ष प्रचण्ड

विराटनगर, ८ कातिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र आफू ‘मुर्ख’ भएर नै पार्टी एकता भएको बताएका छन् ।

एकताका लागि मुर्ख बनेर लाग्दा नै अहिलेको अवस्थामा आइपुगेको अध्यक्ष प्रचण्डले बताएका छन् । २०६४ सालको पहिलो संविधानसभामा अनपेक्षित रूपमा जीत हासिल गरेको तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले जित्दाखेरी कसरी भुइँ छाडिने रहेछ भन्ने आफूलाई अनुभव रहेको उल्लेख गरेका छन् ।

’जित्दाखेरि कसरी धर्ती छाडिँदो रहेछ भन्ने मलाई थाहा छ,’ उनले भने, ‘त्यतिबेला एमालेले अनपेक्षित रूपमा हार्दा कत्तिको हतोत्साही भएको थियो भन्ने अनुभव पनि हामीले गरेका छौं । २०७० सालमा माओवादी तेस्रो पार्टी हुँदा कस्तो हालत हुँदो रहेछ भन्ने पनि मलाई थाहा छ ।’

आज (शुक्रबार) विराटनगर पुगेका उनले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।
मदन भण्डारी तत्कालीन मालेका महासचिव बन्नु र आफू एकता केन्द्रको महासचिव बन्नुमा कुनै न कुनै संयोग रहेको बताउँदै भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवाद अहिलेको नेकपाको ठूलो सम्पत्ति रहेको उल्लेख गरे ।

‘एकता केन्द्रको महासचिव भएपछि पहिलो केन्द्रीय कमिटीको पहिलो बैठकले अहिले नै जनयुद्ध गर्ने स्थिति छैन, हतियार ओढारमा लगेर राख्नु पर्छ भनेर निर्णय गराउने मै हुँ,’ प्रचण्डले भने, ‘प्रचण्ड भन्ने बित्तिकै हिंसाको पर्याय भनेर जसरी बुझ्ने गरिएको छ, त्यो सही होइन ।’

अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवादलाई आफूले निषेध नगरेको बताए । ’जनताको बहुदलीय जनवादलाई हामीले निषेध गरेका छैनौं,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद हामी सबैको राजनीतिक पूँजी हो भन्ने मानेका छौं । एकीकृत पार्टीको राजनीतिक पूँजीको रूपमा हाम्रो दस्तावेजमा व्याख्या गरिएको छ ।’

प्रचण्डले माओवादीले सञ्चालन गरेको जनयुद्ध पनि अहिलेको एकीकृत पार्टीको साझा सम्पत्ति भएको उल्लेख गरे । ‘विगतका सबै कुराहरू हामी सबैको साझा पूँजी भयो,’ उनले भने, ‘हाम्रो दस्तावेजमा माओवादी जनयुद्धले खेलेको भूमिका पनि सकारात्मक रूपले उल्लेख गरिएको छ । प्रचण्डलाई पनि सबैको साझा सम्पति बनाइएको छ ।’

ताजा अपडेट