कयर खोलाको किनारै किनार शक्तिखोर औद्योगिक क्षेत्र जाने सडक निर्माण गरिने "खोलाको दुवै तर्फ ड्याम, २५ मिटर फराकिलो ६ किलोमिटर सडक "

चितवन समाचार डटकम,
९ असोज । चितवनको शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्र जानको लागि नयाँ औद्योगिक सडक निर्माण गरिने भएको छ ।
कालिका नगरपालिकामा पर्ने औद्योगिक क्षेत्रमा जान पुराना साघुरो र घुमाउरो सडक भएकाले छोटो फराकिलो नयाँ सडक निर्माण गर्न लागिएको हो । स्थानीय सरकार प्रमुख, प्रदेश र संघका प्रतिनिधिहरु बिच छलफल गरेर नयाँ मार्ग निर्माण गरेर जाने तयारी भएको छ ।
चितवन उद्योग संघले औद्योगिक मार्गको विषयमा रत्ननगरमा गरेको बृहत छलफलमा यस्तो सहमती जुटेको हो । पूर्व पश्चिम राजमार्ग अन्तरगत चितवनको रत्ननगर बेल्छी पुलबाट कयर खोलाको किनारबाट सडक निर्माण गर्नको लागि अध्ययन गर्ने भएको छ । छलफलमा पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नंं १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले छोटो मार्गनै खोलाको किनार भएकाले यसलाई अगाडि बढाउनु उपयुक्त हुने बताउनु भयो ।
यो खोलाको किनारबाट औद्योगिक क्षेत्रसम्म पुग्नको लागि ६ किलोमिटर दुरी पार गर्नु पर्ने हुन्छ । तर अहिले भइराखेको सडक टाडीको बकुल्लहरबाट शक्तिखोर सिद्धि पुग्नको लागि २२ किलोमिटर पार गर्नु पर्दछ । पुरानाबाटोहरु साघुरो र वस्तीको बिचमा भएकाले खोलाको तटवन्धनसंगै नयाँ मार्गको आवश्यकता रहेको नेता पाण्डेले बताउनु भयो ।
शक्तिखोरबजारदेखि टाडी हुदै सौराहासम्म खोलाको दुवै तर्फ ड्याम निर्माण गर्नसकेमा नदी कटानको समस्या समाधान हुन्छ । नयाँ पर्यटकीय क्षेत्रको विकास र सडक निर्माण हुने भएकाले यो अत्यन्त जरुरी रहेको बताउनु भयो । पूर्व अर्थमन्त्री पाण्डेले भन्नु भयो ‘खोलाको दुवै किनारका जग्गाको लगत संकलन गरेर बिक्री वितरणलाई रोकलगाई सडक निर्माणको काम अगाडि बडाउनु पर्दछ ।’ दीर्घकालिन योजनाको लागि यो सबैभन्दा उपयुक्त स्थान हो उहाले भन्नु भयो ‘निर्माणको लागि स्रोत पहिचान गरेर आगाडि बढ्न स्थानीय सरकार चनाखो हुनु पर्दछ, अन्य सहयोग सहयोग हामी गर्ने छौ ।’ खोलाको दुवै तर्फ ड्याम लगाएर सडक निर्माण गर्न प्रारम्भिक खर्च साढे २ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले कयरखोला सबैभन्दा उपयुक्त स्थान भएकाले विज्ञहरुको सल्लाहमा यो मार्ग निर्माण गर्नु पर्ने बताउनु भयो । औद्योगिक क्षेत्रमा जानको लागि फराकिलो बाटो आवश्यक छ त्यसैले यही स्थानबाट सडक निर्माणको लागि पालिका प्रमुखहरुको भूमिका हुनु पर्ने बताउनु भयो ।
औद्योगिक क्षेत्र निर्माणको पहलदेखि सडकको योजनाका विषयमा पहल गर्दै आएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भन्नु भयो ‘खोलाको भाग ५० मिटर छुट्टाएर दायाँ र बायाँ २५÷२५ मिटरका सडक निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।’ १७ सय ४१ विगाहमा बन्ने औद्योगिक क्षेत्रमा ७ सय २२ वटा ठुला साना उद्योगहरु सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । ३६ अर्बको लगानीमा यो औद्योगिक क्षेत्र निर्माणको काम थालनी हुनेछ । ठुला वजनदार सवारी साधन आउने भएकाले अलगै मार्ग निर्माणको लागि जनप्रतिनिधिहरुले पहल सुरु गर्नु भएको हो ।
२०७२ सालबाट औद्योगिक क्षेत्रको वहस सुरु भएकोमा अहिले डिपिआर रिपोट, वातावरण प्रभाव मुल्याङकन रिपोर्ट पास भैसकेको छ । स्थानीयको सहयोग प्रतिवद्धता, नेपाल सरकारले नीति तथा कार्यक्रममा राखेर केही रकम समेत स्वीकृति गरेको छ । राष्ट्रिय वन क्षेत्रमा पर्ने भएकाले वनले समेत यसलाई स्वीकृति दिइसकेको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले दीर्घकालिन विकासको लागि यो मार्ग सबैभन्दा उपयुक्त भएको बताउनु भयो । खोला किनारका जग्गाहरु धेरै सार्वजनिक जग्गा रहेको र व्यक्तिका नाममा रहेपनि न्युन मुल्यमा खरिद गर्न सकिने भएकाले यस योजनालाई आफूले सहयोग गर्ने बताउनु भयो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले विकासका पूर्वाधार निर्माण हुदै गर्दा स्थानीयको साथ र सहयोग पहिलो प्राथमिकता रहेको बताउनु भयो । सबै भन्दा छोटो खोला किनार भएकाले यसलाई आफ्नो नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
प्रदेश सांसद तथा नेकपा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल, प्रदेश सांसद धनश्याम दाहाल, कञ्चन खनाल, नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, कालिका नगरपालिकाको वडा नं. ६ का अध्यक्ष विनोद रेग्मी, खैरहनी, रत्ननगर नगरपालिका, सम्वन्धीत क्षेत्रका वडाध्यक्षहरु, सरोकारवालाहरुले यस योजनालाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया