प्रधानमन्त्री ओलीसहित २५ जना मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

काठमाडौं २ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५÷७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् ।

आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी सार्वजनिक गर्ने परम्परा रहे पनि आर्थिक वर्ष २०७५÷७६ को सम्पत्ति विवरण बुझाउने समय सकिँदासम्म पनि उनीहरूले सम्पति विवरण सार्वजनिक नगरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र तथा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्नुपर्ने परम्परा रहँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले गत वर्ष पनि निकै ढिलो गरेर मात्रै सम्पति विवरण सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक नभएको बताए । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नुपर्ने प्रावधान रहेको प्रवक्ता भुसालले बताए । ‘अहिलेसम्म निर्णय नभएकाले सार्वजनिक नभएको हो, निर्णय हुनासाथ सार्वजनिक हुनेछ’, प्रवक्ता भुसालले राजधानीसँग भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कतिपय मन्त्रीहरूको अद्यावधिक विवरण भने कार्यालयमा आउन सकेको छैन । सबैको विवरण आउन बाँकी रहेकाले सार्वजनिक गर्न कठिन भएको हुन सक्ने स्रोतको दाबी छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा चल्दै आएको हो । तर, खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष भएका बेला अध्यक्ष तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

 

८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण

मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।
कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।
किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो । ‘हामीले गरेको सूचना प्रवाहको कारण हुन सक्छ अधिकांशले विवरण पेस गर्नुभएको छ’, उनले भने । बाँकी ४ हजारभन्दा बढीले विवरण पेस गरेका छैनन् । यद्यपि, तुलनात्मक रूपमा यो अत्यधिक रहेको बताइएको छ ।

आजको राजधानी दैनिक बाट

ताजा अपडेट