भरतपुर अस्पतालका कर्मचारी आन्दोलित : हामीलाई नियुक्तिपत्र चाहियो – कर्मचारी, दिन केही समय ढिला भयो – मेसु तिवारी

चितवन समाचार डटकम
२३ भदौ । पचपन्न दिनदेखि नियुक्तिपत्र नपाएको भन्दै भरतपुर अस्पताल विकास समितिका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनले सोमबार पत्रकार सम्मेलन गरी नियुक्ति पत्र तत्काल दिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । युनियनका अध्यक्ष चन्द्रमणि बस्यालले गएको साउन महिनादेखि विकास समितिका कर्मचारीले नियुक्तिपत्र विना काम गरिराखेको जानकारी दिनु भयो । केन्द्रीय अस्पतालको रुपमा पछिल्लो समय नेपाल सरकारले विकास गरेको यस अस्पतालमा ७ सय कर्मचारीले काम गर्दै आएका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष वस्यालले भन्नु भयो ‘ अस्पतालमा नेपाल सरकारको १२५ जना र विकास समितिको ५ सय ७५ जना कर्मचारी रहेका छन्, त्यसमा पनि ५०२ जना करार र ज्यालादारीका कर्मचारीले काम गरेका छन् ।’ नियुक्तिपत्र विना काम गर्दा भोली आइपर्ने समस्याको जवाफदेही को हुने भन्दै अस्पताल प्रशासन गैर जिम्मेवार भएको उहाले आरोप लगाउनु भयो ।
नेपाल सरकारले अस्पताल विकास समिति खारेज गरेको छ । भरतपुर अस्पतालमा विकास समितिबाट काम गर्ने कर्मचारी धेरै रहेका छन् । विकास समितिले राखेका कर्मचारीबाटै अस्पताल चलेको युनियनले जनाएको छ । महिलाको पर्व तीज भर्खरै गएको दशै आउन लागेको तर कर्मचारीलाई नियुक्ति पत्र नदिने, तलब पनि नदिने भन्दै आपत्ती जनाएका छन् ।
अस्पताल प्रशासनले विकास समिति खारेज गरेकाले आफूले कर्मचारीलाई नियुक्ति पत्र दिन नसेको भन्दै जवाफ दिने गरेको अस्पताल विकास समितिका कर्मचारी संजय वरालले जानकारी दिनु भयो । युनियनका अनुसार ७० जना डाक्टरले विकास समितिबाट करार र ज्यालादारीमा काम गर्दै आएका छन् । नियुक्ति विना काम गर्दा आइपर्ने जोखिमको जिम्मेवारी आफूहरुले नलिने कर्मचारीले जनाएका छन् ।
आफ्नो माग पूरा नगरे मंगलबारदेखि भदौ २७ गतेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने, प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले नियुक्तिपत्र दिने केही समय ढिला मात्र भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भयो । ‘केही दिनभित्रै नियुक्ति पत्र दिने छौ’ उहाले भन्नु भयो ‘नेपाल सरकारले वृद्धि गरेको तलब कर्मचारीले माग्नु भएको हो त्यो अहिले दिन सक्दैनौ मात्र भनेका छौ ।’

ताजा अपडेट