९ घन्टा बसाइका लागि चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने

काठमाडौँ, १६ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १४ अक्टोबर अर्थात २७ असोजमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

भारतका प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच दोस्रो अनौपचारिक शिखर वार्ता दक्षिण राज्य तमिल नाडुको ममालापुरममा तय गरिएको छ। भारतीय दैनिक द हिन्दुले मोदी र सी असोज २५ र २६ मा ममालपुरममा रहने जनाएको छ।

२३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको क्रममा बेइजिङको एउटा सुरक्षा टोली केही दिनअघि काठमाडौंबाट फर्केको छ।

उच्च भ्रमणको क्रममा दुई पक्षीय एजेण्डा र सुरक्षा तयारीका लागि चीनका परराष्ट्रमन्त्री र जनसुरक्षामन्त्री नेपाल आउँदै छन् भने गृहमन्त्री रामबहादुर थापा पनि चीन जाने तयारीमा छन्।

तीन महिनाअघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।

राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।

ताजा अपडेट