कम्युनिष्ट शासन अन्त्य गर्न अन्तिम लडाइ बाँकी : सभापति देउवा

सुर्खेत, ६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब अन्तिम पटक कम्युनिष्ट शासन अन्त्य गर्न लड्नका लागि सबै तयार हुनुपर्ने बताएका छन् । सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै अन्तिम पटक लड्न तयार रहन अपिल गरे ।

शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्रै होइनसंबैधानिक आयोगहरुको अधिकार पनि खोसेको बताए ।

वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ । ‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिम पटक कम्युनिष्ट शासन अन्त्य गर्नका लागि लड्नका लागि सबै तयार हुनुपछ ।’

सभापति देउवाले कम्युनिष्ट सरकारले भ्रष्टाचार र महंगीबाहेक जनतालाई केही दिन नसकेको बताए। ‘जनताको ढाड सेक्ने गरेर कर बढाइएको छ, उपभोक्ता समितिका नाममा कार्यकर्ता पोस्ने काम गरेको छ, भ्रष्टाचारले सीमा नाघेको छ,’ सभापति देउवाले भने, ‘सरकारले जनतालाई राहत मिल्ने केही पनि काम गर्न सकेको छैन।’

सभापति देउवाले पार्टीको आन्तरिक एकता असंभव नभएको बताउँदै व्यक्ति भन्दा पार्टी र देशका लागि सबैले सोच्नुपर्ने बताए। ‘दुई वटा कम्युनिष्ट पार्टीहरु तत्कालिन माओवादी र एमाले मिलेर अहिले नेकपा बनेको छ,’ उनले भने, ‘हामी त एउटै घरका हौं, आन्तरिक एकता असम्भव होइन।’

ताजा अपडेट