यस वर्षको वर्षाले कान्ती राजमार्गमा ३० करोडको क्षती

मकवानपुर, ६ भदौं । मकवानपुरबाट काठमाडौं जाने पूरानो मार्गका रुपमा रहेको कान्ति लोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पुर्‍याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्षातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ ।

हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको छ । असार र साउन महिनामा आएको वर्षासँगै कान्ति लोकपथको निर्माण चालू आवमा पनि नसकिने भएको छ ।
दशैंसम्म ठूला सवारी चलाउने लक्ष्य लिइए पनि वर्षाका कारण क्षति पुगेपछि त्यो लक्ष्य पूरा नहुने निश्चित भएको कान्ति लोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताए ।

उनका अनुसार चालू आव ०७६–७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेकाले पाँच किलोमिटर बाहेक सबै खण्डमा कालोपत्र सकिने छ । बाँकी पाँच किलोमिटर खण्डमा पनि सहज खालको ट्रयाक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुङ्ग्याइने उनले बताए ।

गत आवमा नै सम्पन्न गर्ने उद्देश्य रहेको भए पनि बर्षातको कारण सडकमा ठूलो क्षति भएपछि निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने जनाइएको छ ।

विभिन्न स्थानमा ठूलो पहिरा जानाका साथै सडक भासिएको कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न कठिन भएको आयोजनाका प्रवक्ता अमीन्द्र खड्काले बताए । वर्षाले क्षति गरेको कारण यस वर्ष लागेको ठेक्का बाहेकको काम गर्न नै करीब ३० करोड खर्चनु पर्ने देखिएको खड्काको भनाइ छ ।

यो आवमा ठूला मालवाहक र यात्रुवाहक सवारीलाई सञ्चालन योग्य बनाउने आयोजनाले लक्ष्य लिएको छ । यो सडकका लागि ०१४ सालमा ट्रयाक खोल्न शुरु गरेर ०१६ मा काम सकिएको थियो ।

तर त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भिरको क्षेत्रमा सडकको अवस्था नसुधारिएको कारण करीब ५० वर्ष यो सडक अलपत्र नै रहेकामा करीब एक दशकयता चासोपूर्वक निर्माणमा सरकार जुटेको हो ।

त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्र शुरु भएको हो । हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्र गरिसकेको छ । अघिल्लो वर्षको दशैंमा नै सडकको निर्माण सक्ने भनिए पनि विष्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो ।

हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्रयाक सहज बनाउने काम गरिरहेको छ । अन्य ट्रयाक खुलिसकेका खण्डमा कालोपत्र गरिंदैछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म दुई अर्ब ५१ करोड खर्च गरेको आयोजना प्रबक्ता खड्काले जानकारी दिए ।

काठमाडौंबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।

कोरियाको सरकारी कम्पनीले लोकपथको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेको थियो । मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विष्फोटक पदार्थबाट पहरा फोडिएको आयोजनाले जनाएको छ । हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ र पालुङ हुँदै आउने १३६ किमी, हेटौंडा–दक्षिणकाली–काठमाडौँ सडकको विकल्पका रुपमा कान्ति लोकपथलाई हेरिएको छ ।

२०१६ सालदेखि नै एक लेनको कान्ति लोकपथमा सवारी चल्न शुरु गरे पनि ललितपुर र मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो । आयोजनाको ललितपुरतर्फको केही भागमा अझै बाटो फराकिलो बनाउनुपर्ने काम बाँकी नै छ । वर्षा सकिएसँगै निर्माणमा तीव्रता दिइने बताइएको छ ।

ताजा अपडेट