भरतपुर आँखा अस्पतालबाट बर्षदिनमा दुई लाखजना भन्दा बढीलाई सेवा

चितवन , साउन १६

नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा ३२ हजार ३७५ जना बढी आँखाका बिरामीले सेवा लिएका हुन् । भरतपुरमा रहेको अस्पताल, विभिन्न स्थानमा गरिएका आँखा शिविर र अस्पतालबाट सञ्चालित आँखा उपचार केन्द्रहरुबाट बिरामीलाई सेवा दिइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालबाट एक लाख ३७ हजार ५२५, उपचार केन्द्रबाट ४२ हजार २८९ र आँखा शिविरबाट २८ हजार ९९२ जनालाई सेवा दिइएको हो । जसमध्ये चार हजार २०९ को शल्यक्रिया गरिएको छ ।

अस्पतालमा आएका बिरामीमध्ये चार हजार २०९ र शिविरमा आएका तीन हजार २०४ जनाको आँखा शल्यक्रिया गरिएको हो । अस्पतालले चितवन, नवलपुर, पर्सा, धादिङ, बारा, गोरखा, रामेछाप, लम्जुङ, रसुवा, बर्दिया, तनहुँलगायतका जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । एक सय ४७ शिविर सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभयो । बीस शल्यक्रिया शिविर रहेका थिए ।

घिमिरेका अनुसार अस्पतालले चितवन, नवलपुर, धादिङ, पर्सा र तनुहँका ७५ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको आँखा परीक्षण गरेको छ । सो क्रममा ३० हजार ८२३ विद्यार्थीको आँखा परीक्षण गरिएकामा एक हजार ५२ लाई निःशुल्क चश्मा वितरण गरिएको थियो । भरतपुर आँखा अस्पतालले चितवनको टाँडी, पर्सा, सौराहा, माडी र चनौली, पर्साको ठोरी, बाराको सिम्रनगढ, धादिङको सल्यानटार, नवलपुरको कावासोतीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलले सबैतिरबाट आँखा उपचारमा सहयोग जुटेसँगै धेरै बिरामीको उपचार गर्न सकिएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै आफ्ना नागरिकको आँखा परीक्षणमा ध्यान पुग्न थालेको बताउँदै उहाँले आउँदा वर्षहरुमा बिरामीको सङ्ख्या अरु थपिने अनुमान गरिएको जानकारी दिनुभयो ।  उपचार गरेर निको हुन्छ भन्ने नजान्दा कतिपय बिरामी घरमै रहेको भन्दै उहाँले सबैले आँखा उपचारका बारेमा बुझ्न र बुझाउन सकेमा अस्पतालसम्म आउनेको सङ्ख्या बढ्ने बताउनुभयो । –रासस

ताजा अपडेट